04:20:00 NST
विद्यार्थीले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउने
जेष्ठ १६ काठमाडौं । सरकार बाहिर रहेका नेपाली काँग्रेस, नेकपा एमाले, मधेसी जनअधिकार फोरम नेपाललगायत पार्टीसँग सम्बद्ध विभिन्न विद्यार्थी, युवा र महिला भ्रातृसंस्थाले संविधानसभाको विघटन भइसकेपछि अर्को निर्वाचन घोषणा गर्नु गैर संवैधानिक भएको भन्दै मंगलबार राष्ट्रपति डा रामबरण यादवलाई ज्ञापनपत्र बुझाउने भएका छन् । अहिलेको सरकारविरुद्व तीन दिने विरोधका कार्यक्रम सार्वजनिक गरेका नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल तरुण दल, युवा सङ्घ, नेपाल महिला सङ्घ, प्रजातान्त्रिक युवा सङ्घ, युवा सङ्घलगायतका १६ वटा भ्रातृसंस्थाले राष्ट्रपति समक्षा ज्ञापनपत्र बुझाउन लागेका हुन् । बिद्यार्थी सङ्गठनका पदाधिकारीहरूको हिजो बसेको बैठकले प्रधानमन्त्रीद्वारा घोषित नयाँ निर्वाचन असंवैधानिक भएकोले विरोधमा उत्रने निर्णय गरेको थिया । नेविसङ्घका अध्यक्ष रञ्जित कर्णले राष्ट्रिय सहमतिको सरकारको निर्माणका लागि प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम तुरुन्त फिर्ता लिई मुलुकको पछिल्लो राजनीतिलाई सहज बनाउन आग्रह गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन लागिएको जानकारी दिनुभयो ।