जेष्ठ ३१ काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि उपाध्यक्ष मोहन वैद्य किरण समक्ष ७ बुँदे लिखित प्रस्ताव पेश गर्नुभएको छ ।
आफ्नै निवास लाजिम्पाटमा बुधबार दिउँसो भएको भेटमा उहाँले प्रस्ताव पेश गर्नुभएको हो । ‘अध्यक्षले लिखित एकताको लागि लिखित प्रस्ताव पेश गर्नुभएको छ, अब छिटै दुई पक्षबीच छलफल भएर टुंगो लाग्छ’ छलफलमा सहभागी पार्टी नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
प्रचण्डको प्रस्तावमा पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न र कमिकमजोरीप्रति आत्मालोचित हुन तयार रहेको उल्लेख छ । यस्तै नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको प्रस्तावमा भनिएको छ । प्रस्तावमा भनिएको छ-’पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ ।’
जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनु पर्ने तथा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनीतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न तयार रहेको प्रस्तावगमा उल्लेख छ । दुवै पक्षको भेला स्थगित गरि पूर्ण केन्द्रीय समितिको बैठक बस्ने प्रस्ताव गर्दै प्रचण्डले वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादबारे पार्टीमा फोरम सञ्चालन गरि माघभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउने प्रतिवद्धता जनाउनु भएको छ ।
बैद्य पक्षद्धारा अस्वीकार
यसैबीच अध्यक्ष प्रचण्डको प्रस्ताव पुरानै भएको भन्दै यसको आधारमा पार्टी एकता हुन नसक्ने ठहर गरेको छ । बैद्य पक्षले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा छाडेर जनवादी कार्यदिशामा जानु पर्ने सर्त राखेको छ ।
प्रचण्डको प्रस्तावको विषयमा छलफल गर्न बसेको वैद्य पक्षका नेताहरुको बैठकले प्रचण्डको प्रस्तावमा नयाँ कुरा नभएको भन्दै यसको आधारमा अघि बढ्न नसक्ने ठहर गरेको हो । ‘जनवादी क्रान्तिको बाटोको लागि राजनीतिक कार्यदिशा र कार्यनीति परिवर्तन गर्छु भन्ने प्रस्तावमा उल्लेख छैन’ वैद्य पक्षका नेता देव गुरुङले भन्नुभयो -’यसको आधारमा हामी अघि बढ्न सक्दैनौं ।’
नयाँ विचार र सिद्धान्तका आधारमा मात्र अघि बढ्न सकिने र आफूहरुले यसबारे लिखित रुपमै जवाफ पठाउने उहाँले बताउनुभयो ।
के छ ७ बुँदे प्रस्तावमा
पार्टी एकता कायम राख्ने तात्कालिन आधार र उपायबारे प्रस्ताव
देशको समग्र राजनैतिक परिस्थिति र संघर्षको आवश्यकताले हाम्रो महान् तथा गौरवशाली पार्टीमा उत्पन्न विवादको समाधान गरि एकताबद्ध भएर अगाडि बढ्ने आधार र उपायको खोजी गर्नु ऐतिहासिक रुपले अनिवार्य बन्न गएको छ । यो तथ्य निर्विवाद छ कि अर्को अधिवेशन भएर नयाँ आधार प्रस्तुत नगरिँदासम्म पार्टी एकताको वैचारिक, राजनैतिक र साँगठनिक आधार गत केन्द्रीय एकता अधिवेशनद्वारा पारित प्रस्ताव र विधान नै हुन् । यहाँ तात्कालिन अवस्थामा पार्टीमा उत्पन्न विवाद र संगठनात्मक एकताको संकट समाधानको उपायबारे मात्र केही बुँदा अगाडि सारिएको छ ।
१. मा.ले.मा./विचार, नयाँ जनवादी क्रान्तिको कार्यदिशा समाजवाद र साम्यवादको उद्देश्य, जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्त जस्ता आधारभूत विषयहरु यतिबेला हाम्रा विवादका मुख्य विषय होइनन् । अहिले जनवादी क्रान्तिको रणनैतिक उद्देश्य प्राप्तिका लागि अपनाइएको शान्ति, संविधान र सरकारसँग सम्बन्धित कार्यनीति र तिन्को कार्यान्वयनका विषयनै हाम्रा विवादका मुख्य विषय बन्न गएका छन् । त्यसमा पनि हाम्रो ध्यान केन्द्रीय समितिको गत पूर्ण बैठकमा पार्टी एकताका निमित्त गरिएको सहमतिको राजनैतिक प्रस्तावमा केन्दि्रत हुन जरुरी छ । यसरी हेर्दा शान्ति प्रक्रियाका सन्दर्भमा चावि प्रकरणदेखि सेना-समायोजनको निर्णयसम्म, संविधानका सम्बन्धमा विगतमा पार्टी नेतृत्वले गरेका कतिपय सहमति, सरकारका सम्बन्धमा राष्ट्रिय सहमतिको संयुक्त सरकार गठनको विषय एवम् राष्ट्रियताका सन्दर्भमा विप्पा सम्झौता लगायतका विषय नै विवादका मुख्य विषय बन्न गएका छन् । एकताको ऐतिहासिक आवश्यकतालाई महशुस गरि पार्टी नेतृत्व पालुङ्गटारको विस्तारित बैठकपछि लिइएका उपरोक्त सबै निर्णयहरुमा सामूहिक रुपले पूनर्समीक्षा गर्न तयार रहेको कुरा स्पष्ट गर्दछ ।
२. उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंगका जनताका आधारभूत हित र अधिकार मुख्यतः पहिचानका आधारमा संघीयताका पक्षमा संघर्ष गर्दागर्दै संविधानसभाको अवसान हुन पुगेको नकरात्मक स्थितिलाई पार्टीमा एकता कायम गरि जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको अभियानमा जुट्ने सकारात्मक परिणाममा लैजाने आधार तयार भएको छ । यो एकताको आधारलाई पक्डेर अगाडि बढ्नका लागि विगतमा भएका निर्णयहरुको समीक्षा गरि कमी-कमजोरीहरुप्रति आत्मालोचित हुन पार्टी नेतृत्व तयार रहेको कुरा पनि यहाँ स्पष्ट गरिन्छ ।
३. पार्टी एकता र क्रान्तिको समग्र हितलाई ध्यान दिई केन्द्रीय समितिको पूर्ण बैठकमा एजेण्डा राखेर नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल गर्न र आवश्यक त्याग गर्न पार्टी नेतृत्व तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
४. जुनसुकै स्थितिमा पनि संविधानसभाबाट जनताको संविधान निर्माण गर्ने नीतिमा कायम रहनुपर्दछ । संविधान नबन्दासम्म यो नीतिको औचित्य कायम रहने कुरामा स्पष्ट हुनुपर्दछ ।
५. पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानमा राजनैतिक सहमति कायम गरी विगतमा गरिएका सहमतिको स्पीरिटमा सरकारको नेतृत्व परिवर्तन गर्न पार्टी तयार रहेको कुरा स्पष्ट गरिन्छ ।
६. वैचारिक राजनैतिक विषयसँग सम्बन्धित विवादहरुबारे पार्टीमा फोरम सञ्चालन गरि आगामी माघ महिनाभित्र महाधिवेशन आयोजना गरि टुङ्गो लगाउन प्रतिबद्ध हुनुपर्दछ ।
७. उपरोक्त प्रयोजनका निमित्त अहिले दुई भिन्न विचार-समूहद्वारा आयोजित आषाढ १ गतेको राष्ट्रिय भेला र आषाढ १५ गतेको केन्द्रीय विस्तारित बैठक दुवै स्थगित गरि अबिलम्ब केन्द्रीय समितिको पूर्ण बैठक बस्ने र समग्र समीक्षा सहित साझा निस्कर्ष निकाल्न प्रयत्न गर्नु पर्दछ ।
प्रतिक्रियावादी र अवसरवादी तत्वहरुद्वारा हाम्रो महान् र गौरवशाली पार्टीलाई विभाजित पार्न देखेको सपना र गरिरहेको षड्यन्त्रलाई परास्त गर्न उपरोक्त आधार र उपाय अपनाउन एकजुट बनौं । जतिसुकै चुनौतिपूर्ण भए पनि पार्टीको भविष्य उज्जवल छ ।